बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै
बाग्लुङ | बैशाख १०, २०८१
बागलुङः बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिकामा सातव तटबन्धका योजना छन् । बडिगाड गाउँपालिकामा तीन, बागलुङ नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई, ढोरपाटन नगरपालिकामा चार, निसीखोला गाउँपालिकामा तीन, तमानखोला गाउँपालिका एक र काठेखोला गाउँपालिकामा दुई योजना छन् ।
बागलुङका धेरै बस्ती खोला छेउमा हुँदा कटानको उच्च जोखिममा छन् । कटानबाट बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा रु चार करोड ९५ लाखको लागतमा २५ स्थानमा तटबन्ध गर्न थालिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार गलकोट–६ खहरेखोला तटबन्ध वडा नं ९ दरमखोला नदी नियन्त्रण, सोही वडामा चुदीखोला तटबन्ध, वडा नं ४ मा खरुवा माध्यमिक विद्यालय तटबन्ध, वडा नं ९ मा पात्रेढुङ्गा–गौतमघाट तटबन्ध, वडा नं ७ मा चोखालघाटबाट प्रगति प्रावि तटबन्ध र वडा नं १० मा अँधेरीखोला तथा लङ्गुरेघाट बस्ती संरक्षण योजना रहेका छन् ।
बडिगाडको वडा नं २ मा बडिगाड खोला नियन्त्रण, वडा नं ५ मा दीक्षफाँट तटबन्ध र वडा नं ७ मा खोल्टेपानी तटबन्धको काम सुरु भएको उहाँको भनाइ छ । बागलुङ नगरपालिका–१ मा कालीगण्डकी नदी नियन्त्रणको काम भइरहेको पौडेलले बताउनुभयो । सो स्थानमा रहेको लक्ष्मीनारायण मन्दिर संरक्षणका लागि तटबन्ध गरिएको भन्दै वडा नं १० स्थित गलुवाखोलामा समेत तटबन्ध गर्न थालिएको प्रमुख पौडेलको भनाइ छ । बरेङ वडा नं ३ को राउसीखोला र वडा नं २ को गुहिएखोला ठुलो खोलामा पनि तटबन्ध गरिएको छ ।
ढोरपाटन–६ मा गाडीखोला खाल्टेखुल्टे उत्तरगङ्गा ढोरपाटन बस्ती संरक्षण, वडा नं ६ कै तुलाआवि तटबन्ध वडा नं ५ को दोगाडी स्वास्थ्य चौकी संरक्षण र शिवालय मावि संरक्षणका लागि भुजीखोलामा तटबन्ध गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
निसीखोला–२ मा छन्त्याल गाउँ बस्ती संरक्षण, वडा नं १ मा हुल्दी पहिरो नियन्त्रण, वडा नं ५ मा कालाखेत सानोखोला तटबन्धको काम भइरहेको छ । तमानखोला गाउँपालिका–६ नर्जागाउँ तटबन्ध र काठेखोला गाउँपालिका–४ मा धाकखोला तटबन्धको योजना कार्यान्वयन भइरहेको उहाँ बताउनुहुन्छ ।
पौडेलले २५ योजनामध्ये पाँच योजना सम्पन्न भएको, १८ योजनाको काम तीव्र गतिमा भएको भन्दै दुई योजना कालाखेत सानोखोला र अँधेरीखोला लङ्गुरेघाट बस्ती संरक्षण योजना सम्झौता नै नभएको जानकारी दिनुभयो । सबै योजना असार मसान्तसम्म सक्नुपर्ने पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुईवटा बाहेक सबै योजना कार्यान्वयन भइरहेका छन्, अहिले तीव्र गतिमा काम भइरहेको हुँदा असार मसान्तअलावै सक्ने सम्भावना देखिन्छ, यी योजना जहाँ बस्ती जोखिममा छन्, खोला किनारका विद्यालय र स्वास्थ्य संस्था पनि छन्, ती सबैलाई संरक्षण गर्नका लागि यो वर्ष तटबन्ध गर्न थालिएको हो ।”
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

